राजनीति

लोसपामा भाँडभैलो : महन्थ ठाकुरमाथि लाग्यो गम्भीर आरोप, समानान्तर कमिटी बनाउने चेतावनी (भिडियोसहित)


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश तथा जिल्ला तदर्स समितिको नियुक्तीलाई लिएर असन्तुष्टि सुरु भएको छ ।

असन्तुष्ट पक्षले केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले नियुक्त गरेको भन्दै केन्द्रीय कार्यालय घेराउ गरेका छन । विधानतः अध्यक्षको एकल निर्णयले नियुक्ती गर्न नमिल्ने भएपनि ठाकुरले पार्टीलाई प्राईभेट लिमिटेड जसरी चलाएको उनीहरुको आरोप छ ।

केहि समय अघिमात्र जनता समाजवादीबाट टुक्रिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीभित्रै पनि नेतृत्वको विषयलाई लिएर विवाद सुरु भएको छ । पार्टीको प्रदेश २ को प्रदेश तथा जिल्ला तदर्थ समितिमा भएको नियुक्ती विधान विपरित भएको भन्दै असन्तुष्टि बढेको हो । फलत: जनकपुरबाट आएको असन्तुष्ट पक्षले आइतबारबाट लगातार काठमाडौँस्थित लोसपाको केन्द्रीय कार्यालयमा धर्ना दिदै आएका छन् ।

पार्टी विधान अनुसार अध्यक्षले केन्द्रिय कार्य समितिमा छलफल गरेर मात्रै नियुक्ती गर्नुपर्ने व्यवस्था भएपनि विधान र प्रक्रियालाई समेत ख्याल नगरिएको उनीहरुको आरोप छ । नियुक्त भएकाहरुमा पनि अधिंकाश पूर्व तराईमधेश लोकतान्त्रिक पार्टीका नेताहरुको रहेको र यहि रवैयाका कारण पार्टीभित्र प्रष्ट चिरा देखिएको उनीहरुको भनाई छ ।

अध्यक्ष ठाकुरले गरेका नियुक्ती रद्द नभएसम्म केन्द्रिय कार्यालय घेराउ देखि अन्य विरोधका कार्यक्रम कायम राख्ने असन्तुष्ट पक्षले जनाएको छ । एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने समेत उनीहरुको माग छ ।

६ बुँदे माग राख्दै धर्नामा बसेका उनीहरुका मागमा पार्टीको कुनै पनि निर्णय विधी प्रकृया सम्वत् हुनुपर्ने, एक व्यक्ति एक पदको अवधारणा पार्टीमा लागु हुनुपर्ने, भातृ संगठनको गठन, सबै जिल्लामा पार्टी कार्यालयको स्थापना गरिनुपर्ने विषय समावेश गरिएको छ ।

यस्तै पार्टीका कार्यकारिणी समितिको नियमित बैठक बस्नुपर्ने मागले पनि प्राथामिकता पाएको छ । पार्टीको नाम लोकतान्त्रि भए पनि अध्यक्षले नै लोकतन्त्रको हत्या गरेर अधिनायवादी चरित्र देखाएको धर्नामा बसेका नेताहरुको भनाई छ । यहि चरित्र रहिरहे समानान्तर समिति गठन गर्नेसम्मको योजना उनीहरुको छ ।
यता ठाकुर पक्षीय नेताहरु भने कार्यकारिणी समितिले अधिकार दिएकै कारण नियुक्ती प्रक्रिया अघि बढाएको बताउछन । यो असन्तुष्टि घरभित्रकै सानो झगडा भएको र यसको समाधानका लागि अध्यक्ष गम्भिर रहेको उनहरुको दाबी छ । स्वास्थ्य अवस्थामा आएको खराबीका कारण ठाकुर पार्टी कार्यालयमा उपस्थिती हुन नसकेको र असन्तुष्ट पक्षलाई छलफलका लागि निवासमै बोलाईएको उनीहरुको भनाई छ ।

यता जसपामा पनि पछिल्लो समय विवाद बढ्दो छ । अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईबीच टकराव बढ्दो छ । यहिबीचमा लोसपामा पनि देखिएको यो विवादलाई राजेन्द्र महतो र ठाकुरबीचको शितयुद्धका रुपमा वुझिएको छ । यद्यपी धर्नारत नेता कार्यकर्ताहरुले भने आफ्नो असन्तुष्टि शिर्षनेता सबैसंग भएको बताँउदै आएका छन ।