राजनीति

जनमत पार्टी आगजनीमा उत्रिएपछि सिरहामा बिहानैदेखि निषेधाज्ञा जारी


काठमाडौँ –जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले आज बिहानदेखि निषेधाज्ञा आदेश जारी गरेको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनुभयो ।पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५ सय मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ । जनमत पार्टीले कार्यकर्ता पक्राउको विरोधमा गाडीहरूमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको थियो ।