राजनीति

गृहमन्त्रालयको सक्रियता : राष्ट्रियसभा निर्वाचनदेखि विविध क्षेत्रको सुधारमा चासो


काठमाडौँ –सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जोड दिइरहेको छ । सोमबार गृह मन्त्रालयले सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार विभिन्न मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे सुझाव लिइएको हो । बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका विषय तथा निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आँकलन र व्यवस्थापनसम्बन्धी विविध विषयमा छलफल भएको हो । बैठकमा अर्थ, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलगायत सबै सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो ।

यसअघि पुष ७ गते गृह मन्त्रालयले मातहत निकायका विविध क्षेत्रको सुधारका लागि छलफल सुरु गरेको थियो । अध्यागमन विभाग, कारागार व्यवस्थापन, अपराध नियन्त्रण, शान्तिसुरक्षा, सीमा व्यवस्थापन, नागरिकता, राष्ट्रिय परिचयपत्र, शरणार्थी समस्या, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणका बिषयमा मन्त्रालयले सरोकारवालासंग सुझाव लिएको हो ।