कोरोना विशेष

आजदेखि बालबालिकालाई लगाईने भनिएको फाइजर खोप अभियान स्थगित


काठमाडौँ – आजदेखि ८ जिल्लाका बालबालिकालाई लगाइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ । खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ ।

फाइजर खोपका लागि ०।३ एमएलको सिरिन्ज आवश्यक पर्छ । कोभ्याक्स संयन्त्रमार्फत शुक्रबार नेपालले ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको थियो । खोपसँगै सिरिन्ज नआउने भएकाले समस्या भएको हो । यसअघि स्वास्थ्य मन्त्रालयले आजदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने जनाएको थियो ।

यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान पर्सि १४ गतेसम्म चल्ने छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिन लागिएको हो ।

यी जिल्लामा पनि बालबालिकालाई विद्यालयबाटै खोप दिने सरकारले जनाएको छ । मोडर्ना र फाइजर दुवै खोप बालबालिकाका लागि प्रभावकारी भएको र खोप उपलब्धताको आधारमा ५७ र २० जिल्ला छुट्याइएको सरकारको भनाइ छ ।।