राजनीति

भारतमा फैलिएको ओमिक्रोन भाइरसले नेपाल पनि जोखिम, तर छैन तयारी


काठमाडौँ – कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट जोखिम निरन्तर बढ्दै गएपछि भारतको दिल्ली सरकारले सोमबार रातिदेखि कर्फ्यू जारी गरेको छ । राति ११ देखि बिहान ५ बजेसम्म कर्फ्य जारी रहने छ ।

आइतबार मात्र २ सय ९० जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएसँगै कर्फ्यू जारी गरिएको हो । दिल्लीबाहेक यो भेरियन्ट फैलिएको अन्य भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् । विगतको अनुभवलाई हेर्ने हो भने भारतमा कोरोना संक्रमण बढ्दै जाँदा त्यसबाट नेपालमा पनि जोखिम बढेको देखिन्छ ।

पर्याप्त मात्रामा परिक्षण तथा जिन सिक्वेसिङ हुन नसक्दा समुदाय मै संक्रमण फैलिएको हुन सक्ने विज्ञहरुको चिन्ता छ । भारतमा ओमिक्रोनले आतंक सिर्जना गर्दा समेत आवश्यक सतर्कता अपनाउन सकेको छैन । खास गरेर संक्रमण फैलिएका देशहरुबाट हुने आवतजावतमा कडाइ गर्न सकेको छ्रैन । सिमा नाकाबाट आउनेहरुको परिक्षण क्वारेन्टिनको व्यवस्था गरेको दाबी गरे पनि मुख्य सिमानाकाहरुमा बिना परिक्षण नै आवतजावत भइरहेको छ । अझै पनि दुर्गम भेगका ठुलो जनसंख्याले खोप लगाउन पाएका छैनन् ।

विश्व स्वास्थ्य संगठनले जोखिम सम्ुहलाइ खोपको थप मात्रा लगाउन सिफारिस गरे पनि नेपालमा कहिलेदेखि बुस्टर डोज लगाउने भन्ने निश्चित हुन सकेको छैन । यस्तो अवस्थामा ओमिक्रोन भेरियन्टका कारण नेपालले महामारीको दोस्रो लहरमा भन्दा बढी क्षति व्यहोर्नु पर्ने हो कि भन्ने आशंका समेत गरिन थालिएको छ ।