राजनीति

माओवादीको पदाधिकारी बन्न दौडधुप, कसकसको नाम छ चर्चामा ?


काठमाडौँ – नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन, आज मंगलबार अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेसँगै नेतृत्व चयनतर्फ केन्द्रित हुनेछ । महासचिव र अध्यक्षका रुपमा झन्डै साढे ३ दशक पार्टीको नेतृत्व हाँकीसकेकाले यसपटक पनि अध्यक्षमा निरन्तरता पाउने पक्का छ ।

तर, पदाधिकारीको अन्य पदमा भने अहिलेसम्म पनि नेताहरु बीच रस्साकस्सी चलि नै रहेको छ । अध्यक्षपछि शक्तिशाली कार्यकारी पद, महासचिवमा जनार्दन शर्माको सम्भावना बढ्दै गएको छ । महासचिवमा शर्मालाई टक्कर दिनसक्ने नेता वर्षामान पुन अहिले उपचारका लागि चीनमा छन् । पुनले अध्यक्ष प्रचण्डलाई महासचिव बन्ने आफ्नो चाहना सुनाइ सकेका छन् ।

तर, पुनको स्वास्थ्यावस्थाका कारण प्रचण्ड भने शर्मालाई नै महासचिव बनाउने सोचमा पुगेको बताइन्छ । प्रचण्डले पम्फा भुसाललाई समेत महासचिव बनाउन सक्ने सम्भावना छ । उता वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने पक्का पक्कीज जस्तै छ । यद्यपी कृष्णबहादुर महराको नाम पनि चर्चामा छ । उपाध्यक्षमा बाँकी ६ जना कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेलको सम्भावना बलियो छ ।

बाँकी उपमहासचिव, सचिव र कोषाध्यक्षको चयनमा भने प्रचण्डले ठूलो टाउको दुखाइ गर्नु पर्ने अवस्था छैन । माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ ।