राजनीति

माओवादीको महाधिवेशन : आज अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि सामुहिक छलफल


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत हिजो बन्दसत्र सुरू भएको थियो । प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरू भएको हो । हिजो बन्दसत्रमा अध्यक्ष पुष्कमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह गठन गरिएको छ । ती समूहहरूले आजदेखि सामुहिक छलफल गर्दैछन् ।

छलफलका लागि विभिन्न प्रदेश र जनवर्गीय संगठनहरूका छुट्टाछुट्टै समूह बनाइएको छ । महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफल गर्नेछन् । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन् । यसैगरी प्रदेश नम्बर १ को दुई समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क गुरुङले गरेका छन् ।

यस्तै प्रदेश नम्बर २ को गणेश साह टोली नेता छन् भने सो प्रदेशको पनि दुई समूह विभाजन गरिएको छ । यस्तै लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल छानिएका छन् भने गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङले गरेकी छन् । यस्तै प्रवास समितिमा लक्ष्मण पन्त, कर्णालीमा विमला केसी समूह नेता बनेकी छन् । पन्त, केसी र गुरुङ नेतृत्वको टोलीलाई पनि दुई–दुई समूहमा विभाजन गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टले पाएका छन् भने विभागको माया प्रसाद शर्मा टोली नेता बनेका छन् । यस्तै सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्री, जबस मोर्चामा अमृता थापालगायत टोली नेता तोकिएका छन् ।

यसैबीच प्रचण्डको राजनीतिक प्रतिवेदन पेश भइसकेपछि माओवादी नेता राम कार्की पनि आफ्नो छुट्टै प्रतिवेदन पेश गर्ने तयारीमा छन् । उनले अहिलेसम्मको माओवादी आन्दोलनको समिक्षा गरेर आफूले उक्त प्रतिवेदन तयार पारेको जानकारी दिए । राम कार्कीको प्रतिवेदनलाई पार्टी अध्यक्षको प्रतिवेनमाथिको फरक मतको रुपमा पनि बुझिएको छ । तर कार्की भने यसलाई फरक मत भन्दा पनि पूरकको प्रतिवेदनको रुपमा अथ्र्याउँछन् ।