राजनीति

प्रचण्डको राजनीतिक प्रतिवेदनमा के छ ? यी हुन् प्रचण्डले स्वीकारेका तीन गल्ती (भिडियोसहित)


काठमाडौँ – नेकपाको फुटपछि पुन अस्तित्वमा आएको नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौमा जारी छ । महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा राजनीति प्रतिवेदन र विधान मस्यौदा पेश गरिएको छ । पार्टी अध्यक्ष प्रचण्डले झन्डै दुई घण्टा लगाएर प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूह नै बनाएर मंगलबार छलफल प्रारम्भ हुनेछ । के छ त माओवादी केन्द्र राजनीतिक प्रतिवेदनमा ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बन्दसत्रमा सात बुँदे ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन । बन्द सत्रमा पेश भएका राजनीतिक प्रतिवेदनमा छलफलका लागि विभिन्न २५ वटा समूह निर्माण गरिएको छ । प्रतिवेदनउपर मंगलबार छलफल प्रारम्भ हुनेछ ।

प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले आफ्नो तीन गल्तीको समिक्षा समेत गरे । के के छन् त प्रचण्डले स्वीकार गरेको तीन गल्ती ?
पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनु
प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु
प्रचण्डपथलाई हठात् स्थगित गर्नु
आफ्नो गल्तीको समिक्षा गर्दै प्रस्तुत राजनीतिक प्रतिवेदनमा शीर्ष नेताहरुको प्रतिक्रिया के छ त ?

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले पार्टीलाई परिमार्जन र पस्किृति गर्दै अझ शसक्त बनाउने विश्वास नेता कार्यकर्ताको छ ।

जनताको मुक्तिका लागि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता महत्वपूर्ण राजनीतिक एजेन्डा बोकरे सशस्त्र जनयुद्धमार्फत उदाएको नेकपा माओवादी केन्द्र अहिले राष्ट्रिय राजनीतिमा कमजोर छ । २०६४ मा मुलुककै ठुलो पार्टी बनेको माओवादी आफुले नेतृत्व गरेको राजनीतिक मुद्दा स्थापित गर्न सफल भए पनि ती मुद्दाको पूर्ण स्वामित्व लिन नसक्दा पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रभावहिन देखिएको छ ।

झन्डै ७ वर्षपछि महाधिवेशन प्रक्रियामा आएको माओवादी केन्दले राष्ट्रिय राजनीतिमा आफ्नो अस्तित्व पुर्नजीवित गर्ने कार्यदिशा तय गर्न सक्ला ? यो चासोको विषय बनेको छ ।