राजनीति

प्रधानन्यायाधीशको परिवारको सम्पत्ति छानबिन प्रक्रिया सुरु


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ । विभागले जबराको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउन तयारी गरेको हो । विभागका सूचना अधिकारी विनोदकुमार दाहालले प्रधानन्यायाधीशको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्ने प्रक्रिया हिजोदेखि नै सुरु भएको जानकारी दिनुभयो ।

‘पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न मिल्दैन तथा उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न कुनै बाधा पर्दैन’ दाहालले भन्नुभयो,‘ उजुरी परेकै दिनदेखि अनुसन्धानको प्रक्रिया सुरु भइसकेको छ ।’

उहाँले राणाको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्ने जानकारी दिनुभयो । त्यसका लागि अनुसन्धान अधिकृत तोक्ने तयारी भइरहेको पनि दाहालले बताउनुभयो । बैंकहरूको कारोबार तथा मौज्दात हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको छ । राष्ट्र बैंकले सम्बन्धित बैंकबाट विवरण मगाएर विभागलाई पठाउने गरेको छ ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट वरिष्ठ चिकित्सक गोविन्द केसीले राणाको, राणाकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै आइतबार उजुरी दिनुभएको थियो । उजुरीमा राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारीलगायतको पनि सम्पत्ति छानबिन गर्न समेत केसीले माग गर्नुभएको थियो ।