राजनीति

माओवादी केन्द्रको आठौं महाधिवेशन : बन्दसत्र जारी, प्रचण्डको प्रतिवेदनमा छलफल गर्न २५ समूह गठन


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको छ । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सोमवारदेखि सुरु भएको छ ।

बन्दसत्रमा अध्यक्ष दाहालले राजनीतिक तथा वैचारिक दस्तावेज प्रस्तुत गर्नुभएको छ । त्यसैगरी नेता देव गुरुङले पार्टीको विधान मस्यौता प्रस्तुत गर्नुभएको छ । प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समुह विभाजन गरिएको छ । मंगलवारदेखि समुहगत छलफल सुरु हुने भएको छ ।

अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको दस्तावेजमा नेपाली मौलिकता र विशेषतासहितको नेपाली पुँजिवादी क्रान्ति सम्पन्न भएको र नेपाली मौलिकता र विशेषताको समाजवाद प्राप्तीका लागि अघि बढ्नेकुरा उल्लेख भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताउनुभयो । समाजवाद प्राप्तिको बाटो र प्रक्रिया पनि आफ्नै प्रकारको हुने मुल विषयवस्तु दस्तावेजमा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली मौलिकता र विशेषतासहित नेपाली पुँजिवादी जनवादी क्रान्ति सम्पन्न भयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली मौलिकता र विशेषतामा आधारित हो र आगामी हामीले जो समाजवादको कुरा गरिरहेका छौँ, समाजवाद पनि नेपाली मौलिकता र विशेषताको हुनेछ । समाजवाद प्राप्तिको बाटो र प्रक्रिया पनि हाम्रो आफ्नो हुनेछ भन्ने कुरा यसको मुल थिम रहेको छ ।’

आइतवारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म चल्ने भएको छ ।