राजनीति

व्यक्तिगत स्वार्थलाई महत्व दिँदा माओवादी बिग्रँदै गयो : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता/कार्यकर्ताले व्यक्तिगत स्वार्थ र पद, प्रतिष्ठालाई महत्व दिँदा पार्टी बिग्रँदै गएको बताउनुभएको छ ।

आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेता/कार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ । पार्टीका हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । यसको रेकर्ड पार्टी समितिले राख्ने र माथिल्लो समितिमा पठाउनुपर्ने उहाँको प्रस्ताव छ ।

एक खालको सामन्तवाद र निरङ्कुशताको अन्त्य भए पनि अहिले नयाँ–नयाँ स्वरूपमा सामान्तवाद देखिन थालेको भन्दै प्रचण्डले सम्भावित प्रतिगमन र निरङ्कुशताको सामना गर्न क्रान्तिकारी कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीच मोर्चाबन्दी हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।