राजनीति

कांग्रेस, एमाले र माओवादीले भ्रष्टाचार र विसंगति बढाउने बाहेक केहि काम गरेनन् : राजेन्द्र लिङ्देन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला तीन दलले भ्रष्टाचार र विसंगति बढाउने बाहेक देश र जनहितमा एउटा पनि काम नगरेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष लिङ्देनले नेपालका ठूला तीन दल पूर्व राजा ज्ञानेन्द्रको विरोध गरेर आ–आफनो संगठन विस्तारमा लागेको आरोप पनि लगाउनुभयो । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सोमबार आयोजित आम सभामा बोल्दै उहाँले पूर्व राजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्रममा परेर ठूला दलहरु अघि बढेको बताउनुभयो ।

नेपालका ठूला तीनवटा दलहरुले (कांग्रेस, एमाले र माओवादी) ०६२, ०६३ मा जनआन्दोलन गर्ने नाममा जनचाहाना विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको बताउनुभयो ।

त्यस्तै, अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीका नेताहरुले भ्रष्टाचारलाई संस्थागत गरेका कारण जनतामा राजनीतिमै वितृष्णा जागेको दाबी समेत गर्नुभयो ।