राजनीति

दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गरेका डेसमण्ड टुटुको निधन


काठमाडौँ – दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गरेका डेसमण्ड टुटुको निधन भएको छ । नोबल शान्ति पुरस्कार विजेता टुटुको ९० वर्षको उमेरमा निधन भएको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले पुष्टि गरेका छन् ।

राष्ट्रपति रामाफोसाले टुटुको निधनलाई ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताएका छन् । टुटु रंगभेद विरोधी आन्दोलनका नायक एवम् दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका समकालीन हुन् ।

टुटु, सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रंगभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व थिए । टुटुले रंगभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।