राजनीति

ओलीलाई सम्झिँदै प्रचण्डले भने : हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता गरेर आफूहरुले कुनै गल्ती नगरेको बताएका छन् ।

माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहलाई आइतवार साँझ प्रज्ञा भवनमा सम्बोधनका क्रममा प्रचण्डले झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झिँदै यस्तो बताएका हुन् ।

आफू अगाडि बोलेका एमाले महासचिव शंकर पोखरेलको पनि प्रशंसा गर्दै दाहालले पार्टी एकता बचाउन नसकेकोमा दुवै पक्षले समीक्षा गर्नु पर्ने बताएका छन् । ‘एमाले महासचिव शंकर पोखरेलले मननयोग्य कुरा नै राख्नु भयोु, प्रचण्डले भने, ‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । सिंगो एमालेका साथीहरुलाई भन्छु हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ ।’

प्रचण्डले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आफूले आजै बिहान झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको पनि बताए ।

‘मैले ओलीजीसँग टेलिफोन संवाद गरेर महाधिवेशनमा निम्तो दिएँ । सम्भव भए दिउँसो १२/१ बजेसम्म भए पनि आउनु भनेको थिएँ’, प्रचण्डले भने, ‘तर उहाँले राष्ट्रिय सम्मेलन मात्रै भएकाले निम्ता नआउने ठानेर झापा आएँ भन्नु भयो । बरु महासचिवलाई पठाउँछु भन्नु भयो ।’