समाचार

ज्येष्ठ नागरिक किन भए वृद्धाश्रममा बस्न बाध्य ? (भिडियोसहित)


काठमाडौँ — पहिलो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आइतबार मनाइएको छ । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाए पनि सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसक्दा अप्ठेरोमा परेका बृद्धबृद्धाहरुले राहतको महसुस गर्न सकेका छैनन ।

विगतमा नेपाली समाजमा बृद्धबृद्धाहरुको समान हुन्थ्यो । उनीहरुलाई घर,परिवार समाजमा सबैले अत्यन्तै मानसम्मान गर्दथे । बृद्धबृद्धालेजीवनभरि सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि मार्ग दर्शन बन्दथे । एउटै घरमा परिवारका धेरै सदस्यहरु संगोलमा बस्दथे । तर, अहिले नेपाली समाजमा बुढेसकालमा अरुको सहयोग चाहिने बेलामा पुगेका बूढाबूढीको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित तिरस्कारको शिकार हुन पुगेका छन । घरपरिवारबाट उचित माया ममता नपाएका बृद्धबृद्धाको संरक्षणको लागि राज्यले विभिन्न नीति नियम बनाएको भएतापनि तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको छ। पछिल्लो समयजन्म दिने आमा–बाबुलाई समेत हेला गर्ने, कुटपिट गर्ने र घरैबाट निकाली दिनेसम्मका घटनाहरु बढ्दै गएका छन् । अहिले आफ्नो सहारा दिने कोहि नभएपछि कतिपय जेष्ठ नागरिक बृद्धाश्रममा बस्न बाध्य भएका छन् ।

शारिरीक आर्थिक तथा सामाजिक हैसियत कमजोर हुदै गएका कारण परिवार र समाजबाट बढी माया सम्मान पाउनु पर्ने बेलामा तिरस्कार हेला र घृणाको पात्र बन्नु पर्दा कति रुन्छ होला ति बुद्ध बुद्धाको मन । राष्ट्रिय दिवस मनाएर मात्र जेष्ठ नागरिकको समस्यको समाधान नहुने जेष्ठ नागरिकलाई स्याहार्दै आएका निःसहाय सेवा सदनका प्रशासकीय अधिकृत प्रेम प्रसाद उप्रती बताउछन् ।

नेपालको संबिधान र जेष्ठ नागरिक ऐनले ६० बर्ष उमेर पुरा गरेकालाई बृद्ध मानेको भएता पनि राज्यले दिने भनेका कतिपय सुबिधा पनि जेष्ठ नागरिकले सहजै पाउन सकेका छैनन् । अहिले देश नै बुढा पाकाहरुले चलाएका छन् । तर, पनि जेष्ठ नगारिकहरुप्रति शासन सत्ता सम्हालेकाहरु नै उदार बन्न सकेका छैनन् ।

२०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका रुपमा एक सय रुपैयाँ प्रदान गर्न थालिएको थियो । नेपालमा कुल जनसंख्याको नौ प्रतिशत ज्येष्ठ नागरिक छन् । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको संख्या बढ्दै छ । पछिल्लो समय ज्येष्ठ नागरिकको अवस्था सन्तोषजनक छैन । उनीहरू ज्ञान, सीप र अनुभवको भण्डार भएकाले नयाँ पुस्ताको लागि प्रगतिको साधक बन्न सक्छ । तर व्यवहारमा भने उपेक्षा गर्ने गरिएको छ ।