राजनीति

पूर्वमाओवादीबीच एकता गर्न सीपी गजुरेलले राखे तीन शर्त


काठमाडौँ — नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरलले पूर्व माओवादीबीच एकता गर्न शर्त अगाडि सारेका छन्।

माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा गजुरेलले पर्व माओवादीबीच एकता आवश्यक रहेको भन्दै त्यसका लागि शर्त अगाडि सारेका हुन् ।

पहिलो : जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा हामीले जे प्रतिवद्धता जाहेर गरेको थियौं, त्यसलाई पुनर्स्थापित गर्नुपर्छ ।

दोस्रो : हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अहिले पनि अधुरो र अपुरो छ । ‘नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढौं, त्यो कार्यक्रम पारित गरौं, म अनुरोध गर्न चाहन्छु,’ गजुरेलले भने ।

तेस्रो : राष्टिय स्वाधीनताका विषयमा केही महत्वपूर्ण निर्णय लिनुस् । ‘अहिले चलिराखेको विवाद जुन छ, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न तपाईंहरुले जोड लगाउनु होला,’ उनले भने, ‘हामीले गुमाएका भूभागहरु नक्सामा त हासिल गर्‍यौं । वास्तविक रुपमा हासिल गर्न सकेको छैनौं । कालापानी लिनुलेक, लिम्पियाधुरा हासिल गर्न प्रतिवद्धता होस् ।’

क्रान्तिकारी माओवादीका नेता गजुरेलले अघि भने, ‘यी सबै भयो भने पार्टी एकताका लागि बहस गर्ने, छलफल गर्ने ढोका खुल्छ । यो महाधिवेशनले त्यो ढोका खोलोस् ।’