राजनीति

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा चित्रबहादुर केसी नजाने


काठमाडौँ — नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा पाँच दलीय गठबन्धनका सदस्य चित्रबहादुर केसी नजाने भएका छन् ।

गठबन्धनका सदस्य एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष केसीले आफू नगएर प्रतिनिधिका रुपमा उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने भएका छन् ।

राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनबाट सबै दलका प्रमुख माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।

त्यस्तै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशन उद्घाटनमा जाने भएका छन् । माओवादीबाट निम्तो पाएको एमालेबाट महासचिव शंकर पोखरेलले उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर दिएको निम्तो एमाले अध्यक्ष केपी ओलीले अस्वीकार गरिदिएका छन् ।