राजनीति

ओलीलाई फोन गरेरै प्रचण्डको निम्तो


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि सुरु हुने माओवादी केन्द्रको राष्ट्रियसम्मेलनको उद्घाटन सत्रमा अतिथिको रुपमा सामेल हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता दिएका छन् । प्रचण्डले ओलीलाई आफैले फोन गरेर अतिथिका रुपमा निम्ता गरेका हुन् ।

प्रचण्डले फोन गरेर ओलीलाई निम्ता गरेपनि आफू झापामा भएका कारण आउन असमर्थ रहेको बताएका छन् । ओलीले माओवादीको कार्यक्रममा पार्टीको नेतृत्व गर्दै महासचिव ईश्वर पोखरेल उपस्थिति हुने बताए । यसअघि एमालेको मंसिरमा चितवनामा भएको महाधिवेशनमा प्रचण्डलाई निम्ता गरे पनि माओवादीको तर्फबाट लीलामणि पोखरेल सहभागी भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि तिक्ततापूर्ण रहँदै आएको दुई नेताको सम्बन्ध त्यसपछि पहिलो पटक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा भएको थियो ।

माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ । उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने तय भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम अब ३ बजेदेखि सुरु हुने भएको छ ।