राजनीति

ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता


काठमाडौँ – प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने पनि सरकारले बताएको छ । दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जेष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्न पनि आह्वान गर्नुभएको छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी सम्मान गर्नुपर्ने बताउनुभएको छ ।