राजनीति

प्रचण्डको उत्तराधिकारीको खडेरी ? नेतृत्व हस्तान्तरण र पुस्तारणको ढोका यस पटक पनि बन्द (भिडियोसहित)


काठमाडौँ — संसदको तेश्रो ठूलो दल नेकपा माओवादी केन्द्रको यही पौष ११ देखि १५ सम्ममा राष्ट्रिय सम्मेलन हुँदैछ । २०७१ मा विराटनगर राष्ट्रिय सम्मेलन गरेको माओवादी केन्द्रले काठमाडौमा राष्ट्रिय सम्मेलन गर्न लागेको हो,तर, राष्ट्रिय सम्मेलनले प्रचण्डको विकल्पमा नयाँ नेतृत्व दिन नसक्ने पक्का पक्की जस्तै भएको छ ।

सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले नीति र नेतृत्वका लागि भन्दै यही पुस ११ गतेदेखि १५ सम्म काठमाडौमा राष्ट्रिय सम्मेलन गर्दैछ ्। १५ सय प्रतिनिधिको उपस्थितिमा हुने राष्ट्रिय सम्मेलनले नयाँ नीति र नेतृत्व चयन गर्नुपर्ने हो । तर, माओवादीमा करिब ३५ वर्ष नेतृत्व गरेका प्रचण्डको विकल्पमा उत्तराधिकारी कोही नभएपछि उनी पुनः नेतृत्वमा दोहोरिने पक्का जस्तै छ। लामो संघर्ष र आन्दोलनको भट्टीबाट खारिएर आएको पार्टी भएपनि प्रचण्डको विकल्पमा योग्य उत्तराधिकारी भेटिएनन् । जसका कारण यस पटकको राष्ट्रिय सम्मेलनले उनै प्रचण्डलाई दोहो¥याउन लागेको हो । विकल्परहित नेतृत्वमा प्रचण्डले नयाँ परस्थितिमा पार्टी निर्माण गर्न क्रान्तिकारी विचारको साथ अघि बढाउने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करिब ३५ वर्षदेखि नेतृत्वमा छन् । उनकै नेतृत्वमा दश वर्षे जनयुद्ध र नयाँ संविधान जारीसंगै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको राजमार्गमा छ। संघीयता,गणतन्त्र धर्मनिरपेक्षता र समावेशीताको मुख्य एजेण्डा स्थापित त भए । तर, राज्यको चरित्र फेरिएको छैन। विशेष गरी कम्युनिष्ट पार्टी विचारबाट निर्देशित हुन्छ, अझ नेपालको सन्दर्भमा एमाले र माओवादीमा नेतृत्वले जे जस्तो विचारसहितको योजना बनाउँछ, सोही अनुसार पार्टी अघि बढ्ने गरेको देखिन्छ ।

यद्यपि एमालेमा नेतृत्वको लागि भीम रावलले प्रतिस्पर्धा गरेपनि करिब ९५ प्रतिशत कार्यकर्ताले नेतृत्वमा ओलीलाई अनुमोदन गरेका थिए । त्यस्तै माओवादी भित्र पनि यही प्रवृत्ति दोहोरिने भएको हो । महाधिवेशन होउन, या सम्मेलन जे जे भएपनि ती कर्मकाण्डी कर्मको रुपमामा मात्रै रहेकाले नेताले जस्तो नीति र योजना बनाउँछ सोही अनुसार नीति र नेतृत्व आउने बाम विश्लेषक नरेन्द्रजंग पिटर टिप्पणी गर्दछन् ।

शान्ति प्रक्रियाको १५ वर्षपछि पनि प्रचण्ड पार्टीभित्र विकल्पविहीन नेताको रुपमा रहदै आएका छन् । यस पटकको राष्ट्रिय सम्मेलनले पनि उनैलाई दोहो¥याउने भएपछि माओवादीमा नेतृत्व हस्तान्तरण र पुस्तारणको ढोका यस पटकका लागि बन्द भएको छ ।