राजनीति

सभापतिमा सघाएका समूहलाई देउवाले कसरी समेट्लान् ? (भिडियोसहित)


काठमाडौँ — लामो अन्योलताका बीच अन्तत नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन सम्पन्न ग¥यो । आज नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीभित्र सुदृढ एकता कायम गर्दै अगाडि बढ्ने संकल्प गरेको छ । तर सभापति देउवाका लागि पार्टीभित्र एकता कायम गराउन भने फलामको चिउरा चपाएसरी हुने पक्का छ ।

मंसिर २४ मा उद्घाटन भएर २७ गते निर्वाचनमा गएको नेपाली काँग्रेसले झन्डै १० दिन लगाएर सबै पदाधिकारी र केन्द्रीय समितिको मत परिणाम सार्वजनिक गर्न सफल भयो । १६ औं दिनमा महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण सहित केन्द्रीय कार्यसमितिको पहिलो वैठक समेत सम्पन्न गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार बसेको पहिलो बैठकले पार्टीभित्र सुदृढ एकताको संकल्प गरेको छ ।

लामो रस्साकस्सी पछि सम्पन्न महाधिवेशनबाट १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका १ सय ३४ जना पदाधिकारी तथा सदस्य निर्वाचन प्रक्रियाबाट चुनिएका छन् । तीमध्ये पुरुष ९३ र महिला ४१ जना छन् । सबैभन्दा बढी खस–आर्य समुदायबाट सभापतिसहित ७७ जना सहभागि छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आदिवासी–जनजाति समुदायका २४, मधेसी समुदायका ११, दलित समुदायका १०, थारू समुदायका ७, मुस्लिम समुदायका ४ र अल्पसंख्यक समुदायका १ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

पार्टी सभापति देउवाले नेपाली कांग्रेसले स्वतन्त्र र पूर्ण लोकतान्त्रिक विधिमा नेतृत्व चयन सम्पन्न गरेको दावी गरेका छन् । आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरुको मतको कदर गर्दै पार्टीलाई अघि बढाउने प्रष्ट पार्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नु विकल्प नभएको बताए ।

गुटगत राजनीतिको चपेटामा फसेको कांग्रेस नवनिर्वाचित कार्यसमिति एकढिक्का भएर पार्टी हाँक्नु नेताहरुले भने जस्तो सहज पक्कै छैन । पार्टीको केन्द्रिय पदाधिकारीभित्र शेखर कोइराला समूहबाट निर्वाचित समूहसँग मिलेर अगाडि बढ्नुको विकल्प छैन । शेखर कोइराला समूहबाट उपसभापतिमा निर्वाचित धनराज गुरुङले पुरानो ढंगबाट नभई कांग्रेस एकढिक्का भएर अगाढि बढ्नुको विकल्प नभएको प्रष्ट पारे ।

गुटगत विवाद र नेताहरुबीचिको अन्तरद्धन्दकै कारण कांग्रेस कमजोर बनेको छ । सैद्धान्तिक रुपमा बलियो भएर पनि देउवालाई सभापति बनाउन सहयोग गरेको कृष्ण प्रसाद सिटौला , रामचन्द्र पौडेल, विमलेन्द्र नीति, प्रकाशमान सिंह समूहलाई समावेश गरी एक साथ पार्टीलाई अगाडि बनाउन देउवाका लागि सहज भने छैन ।