समाचार

राजनीतिक हस्तक्षेपका कारण लथालिङ बन्दै शैक्षिक क्षेत्र, राजनीति गर्ने शिक्षकलाई किन हुँदैन कारबाही ? (भिडियोसहित)


काठमाडौँ — नेपालको शैक्षिक क्षेत्र राजनीतिक हस्तक्षेपका कारण लथालिङ बन्दै गइरहेका छ । विश्वविद्यालयहरु दिनप्रतिदिन खस्कदै गइरहेका छन् । कोरोना महामारीका बेला पनि भुमिकाबिहीन बनेका शिक्षकहरु बिधालयमा पटनपाठनमा भन्दा पनि राजनैतिक संघ संगठनको काममा व्यस्त हुनाले पनि यो क्षेत्र थप धरासायी बनेको हो ।

शिक्षकको दायित्व भनेको विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्दै विधालयको गरिमा बढाउनु नै हो । तर पछिल्लो समय शिक्षकहरु नै राजनितिक दलको सदस्यता लिन तछाड मछाड गर्दा दिनप्रतिदिन शिक्षा क्षेत्र खस्कदै गइरहेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा तीन सय भन्दा बढी शिक्षक महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुदाँ विद्यार्थीहरुको पठन–पाठन प्रभावित बन्यो ।

यसै मेसोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने अभिव्यक्ति दिए । तर, शिक्षक नै राजनीतिमा तत्लीन हुँदा विद्यार्थीहरुमा कति असर परेको भन्ने विषय उनले बुझ्नै चाहेनन् ।

यता गत मंगलबार आर आर क्याम्पस, काठमाडौंका एक विद्यार्थी नेताले क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै शिक्षकलाई निर्घात कुटपिट गरे । उनले पानी भएको स्टिलको जगले हानेर शिक्षकको टाउको फुटाईदिए । तर, विद्यार्थी नेताहरु भने एउटाको उदाहरण दिएर विद्यार्थी अराजक भए भन्न नमिल्ने बताउछन ।

शिक्षक र विद्यार्थीबीच भएको चरम राजनीतिले शिक्षा क्षेत्र डामडोल बनेको छ । राजनीतिक कार्यकर्ता उत्पादन गर्ने उर्वर भूमि बनेको विश्वविद्यालयबाट धेरै नेता जन्मिए, उनै नेताले यो मुलुकको सत्ताको बागडोर पटक पटक सम्हाल्दै पनि आए, तर, त्रिविमै राजनीति गरेर सत्तामा पुगेका शासकहरु विश्वविद्यालयको कारुणिक अवस्थामा पटक्कै जिम्मेवार बनेका छैनन् ।

अबका दिनहरुमा शिक्षा क्षेत्रमा सुधार गर्ने हो भने सरकारले उपयुक्त निति तथा कार्यक्रम बनाएर शिक्षकहरुमाथी राजनीतिमा बन्देज लगाउनु पर्दछ । अटेर गरेर राजनीति गर्ने शिक्षकलाई तत्कालै पेशाबाट बरखास्त गर्ने व्यवस्था नगरेसम्म शिक्षा क्षेत्र सुधारिने देखिँदैन ।