राजनीति

सकियो कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चारवटा निर्णय गरेको छ ।

शनिबार बसेको पहिलो बैठकले पार्टीका संस्थापक नेता र शहीदहरुलाई स्मरण गर्दै पार्टीलाई अझै सुदृढ, एकतावद्ध बनाएर लैजाने संकल्प गर्नेसहितका ४ वटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चार माध्यमसहितलाई धन्यवाद दिएको छ ।

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनका लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको महामन्त्री थापाले जानकारी दिए ।

त्यस्तै दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि बैठकले गरेको छ ।