काठमाडौँ — सिंगो विश्वनै यति बेला कोरोना भाइरसको नयाँ नयाँ भेरियन्टसँग लडिरहेको छ । धेरै देशले भाइरसविरुद्ध पूर्ण मात्रामा खोप लिए सकेका छन् । कतिपय देशमा भने नागरिकले पहिलो मात्राको खोप नै लगाउन पाएको छैनन् । कतिपय देशमा भने बुस्टर डोज पनि प्रयोगमा आईसकेको छ । नेपालमा पनि विश्वस्वास्थ्य संगठनले अनुमति दिए पुसको अन्तिमतिर बुस्टर डोज लगाउने तयारी गरेको छ ।
पछिल्लो समय खोप लगाएको समय लम्बिँदै जाँदा बुस्टर डोजको चर्चा–परिचर्चा सुरू भएको छ । ओमिक्रोन भेरियन्टको उदयसँगै यसको चर्चा अझ चुलिएको हो । हाल विश्वका ३६ भन्दा बढी मुलुकमा कोभिडविरुद्ध पूर्ण खोप पाएकाहरूलाई बुस्टर डोज दिन थालिएको छ ।
कतिपय देशले भने बुस्टर भ्याक्सिन लगाउने योजना बनाइरहेका छन् । इजरायल कोरोनाको बुस्टर डोज दिने संसारकै पहिलो देश बनेको छ । अधिकांश देशमा दोस्रो डोज लगाइसकेको ६ महिनादेखि एक वर्षको अन्तरालमा बुस्टर खोप लगाउन सकिनेबारे विभिन्न अनुसन्धानले देखाएका छन् । नेपालमा अझै पनि ठुलो जनसंख्याले कोरोना विरुद्धको खोप पाएका छैनन् । तर, पनि सरकारले छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ । सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिने गरी तयारी गरेको बताएको छ ।
बुस्टर डोज लगायो भने शरिरमा एन्टिबडीको मात्रा ५ देखि १० गुणासम्म बढ्ने देखिएको विज्ञहरु बताउँछन् । छातीरोग विशेषज्ञ डा. निरज बलले संक्रमणको जोखिम कायमै रहेकाले शरीरमा कोभिडविरुद्धको एन्टिबडी कायम राख्नु ठूलो चुनौती रहेको बताए । त्यसैले पनि बुस्टर डोजलाई प्रयोगमा ल्याउनुपर्ने उनको भनाइ छ ।
नेपालमा अझै पनि आधा बढी जनसंख्याले कोरोना विरुद्धको खोप लगाउन बाँकी छ । खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा २ करोड २८ लाख ४० हजार १ सय ८९ मात्रा खोप लगाइएको छ । जसमध्ये १ करोड २९ लाख १ हजार ३ सय ६६ जनाले पहिलो मात्रा र ९९ लाख २७ हजार १ सय २३ जनाले पुर्ण खोप लगाएका छन् ।
प्रतिक्रिया