खेलकुद

माल्दिभ्सलाई पराजित गर्दै नेपालको लगातार दोस्रो जित


काठमाडौँ — एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय भलिबल टीमले लगातार दोस्रो खेलमा जित निकालेको छ । शुक्रबार ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

नेपालविरुद्ध निरिह देखिएको माल्दिभ्स कुनै पनि समय खेलमा फर्कन सकेन । माल्दिभसविरुद्ध नेपालले २५-११, २५-९ र २५-५ को सहज सेटमा जित निकाल्यो । आफ्नो पहिलो खेलमा नेपालले बिहीबार श्रीलंकालाई पराजित गरेको थियो ।

नेपाली महिला टिमले सुरुवातबाटै माल्दिभ्सलाई दबाबमा राखेको थियो । सुरुवातबाटै लिड बनाएको नेपालले एकपटक पनि पछि फर्कनु परेन । पहिलो खेलमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धात्मक खेलमा ३-२ को जित निकालेको नेपाल दोस्रो खेलमा सहज जितसँगै नेपालले दुई खेलमा ५ अंक बनाएको छ ।

लगातार दुई जितले नेपालको फाइनल सम्भावना बलियो बनेको छ । ६ टिम सहभागी प्रतियोगितामा नेपालले भोली ९शनिबार० घरेलु टोली बंगलादेशको सामना गर्नेछ ।