राजनीति

कांग्रेसको केन्द्रीय समितिमा ५८ प्रतिशत नयाँ अनुहार


काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चुनाव भएको १० दिनपछि बल्ल मतगणना सकिएको छ । पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना हिजो सकिएपछि १३५ सदस्यीय केन्द्रीय कार्यसमिति औपचारिक रुपमा बनेको छ ।

महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवार ४९१ मध्येबाट सभापतिमा शेरबहादुर देउवासहित १३ पदाधिकारी र ११९ सदस्य गरी १३२ जनालाई निर्वाचित गरेका हुन् । प्रदेश–२ बाट आनन्द्रप्रसाद ढुंगाना र रमेश रिजाल भने सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भए । विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्नु भएको छ । यसरी महाधिवेशनबाट १३५ सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ ।

कांग्रेसले समानुपातिक समावेशी सिद्धान्तको उच्चतम अभ्यास गरेको भने पनि केन्द्रीय समितिमा खसआर्य समुदायको वर्चस्व देखिएको छ । समितिका १३५ जनामध्ये ७७ जना खस आर्य समुदायका छन् । केन्द्रीय समितिमा पुरुष ९४ जना र महिला ४१ छन् । अब सभापति शेरबहादुर देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनुहुनेछ ।

यस्तै, धेरै जसो पुरानै अनुहार दोहोरिँदा पनि केन्द्रीय समितिमा ५८ प्रतिशत नयाँ अनुहार अटाएका छन् । १३५ सदस्यीय वर्तमान केन्द्रीय समितिमध्ये ७९ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् ।

यसैबीच, सभापतिमा निर्वाचित शेरबहादुर देउवाले आज दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै हुनुहुन्छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई केन्द्रीय निर्वाचन समितिले आजै प्रमाणपत्र हस्तान्तरण गर्ने जनाएको छ । कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक भोलि बस्ने छ ।