समाचार

सर्लाहीमा हिउँदेवालीका लागि मलको हाहाकार, सरकारले उपलब्ध गराएको मलमै कालोबजारी (भिडियोसहित)

किन सँधै मलको हाहाकार हुन्छ ?


काठमाडौँ — गहुँ र हिउँदेवालीको लागि पकेट क्षेत्र मानिने सर्लाही जिल्लामा अहिले मल नपाएर किसानहरूले लगाएको वाली बिग्रिन थालेको छ । कतिपयले लगाइसकेको गहुँबालीमा मल हाल्न पाएका छैनन् भने कतिपय मल उपलब्ध नहुँदा बाली लगाउने कि न लगाउने भन्ने अन्यौलमा परेका छन् ।

सर्लाही जिल्लामा हिउँदेबालीका लागि अवश्यक मल नपाउँदा कृषकहरु चिन्तित बनेका छन् । मल नपाएपछि किसानहरुलाई बाली कसरी सप्रिन्छ भन्ने चिन्ताले सताएको छ भने यहाँ डिलरवालाहरु मलको अबैध व्यापार गरेर मालामाल भइरहेका छन । मलले किसानहरुको हाहाकार हुँदासमेत सम्बन्धीत निकाय कानमा तेल हालेर बसेको भन्दै कृषकहरु आक्रोशित बनेका छन् ।

कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय सर्लाहीका अनुसार सर्लाहीमा युरिया १ हजार बोरा र डिएपी ८ सय बोरा आयात भएकोमा युरिया प्रती बोरा ८ सय १५ रुपैया र डिएपी मल २२ सय ६५ रुपैयामा सहकारी संस्था मार्फत बिक्री बितरण गरेको छ । आयात भएका सबै मल जिल्लाका पालिकाहरूको सिफारिसमा सम्बन्धित डिलरलाई बिक्री वितरण गरिसकेको कार्यालयको भनाइ छ । सरकारी अनुदान सहितको दर रेट अनुसारनै युरिया मल ८ सय १५ रूपैया र डिएपी मल २२ सय ६५ रूपैया कायम गरि बिक्री वितरण गरेको कार्यालयले जानकारी दियो । उता किसानहरुले भने डिलरवालाहरु सरकारी अनुदानमा पाएको मल व्ल्याकमा बिक्री वितरण गरि रहेको आरोप लगाएका छन् ।

सरकारी अनुदानको मल जिल्लाका ग्रामीण भेगमा रहेका किराना पसलदेखि औषधि पसलहरूमा खुलेआम व्ल्याकमा बिक्री वितरण भईरहेको किसानहरूले बताएका छन् । जिल्लामा सरकारी अनुदानमा आएका युरिया मल अहिले किसानहरु १२ देखि १५ सय रुपैया र डिएपी मल ३ हजार देखि ३५ सय रुपैयासम्ममा किन्न बाध्य भएका छन् । अनुगमन गर्ने निकायहरु सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालय निस्कृय भएका कारण अहिले मल खादको बिक्री बल्याकमा भई रहेको कृषि सामाग्री कार्यालय सर्लाहीले बताउँदै आएको छ । मल बिक्री वितरण गर्न सर्लाही जिल्लाका २० वटा पालिकाहरूले सिफारिस गरेका १ सय ७० वटा डिलरहरूलाई अधिकार दिइएको छ ।

कृषि सामाग्रीले मल उपलब्ध गराएपनि सहज रुपमा मल नपाएको कारण व्ल्याकमा भएपनि खरिद गरेर काम चलाउनु परेको किसानहरूले दुखेसो पोखेका छन् । यस्तो समस्या एक सिजनको मात्र नभइ प्रत्येक सिजनको रहेको र हरेक वर्ष धान, गहुँ लगायत अन्य बाली लगाउने बेला हुने गरेको किसानहरु बताउँछन् ।