राजनीति

त्रिविमा लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्चमा रिट दर्ता


काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि दरखास्त भरेका परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

त्रिवि सेवा आयोगले गत साउन १८ गते सञ्चालन गर्नुपर्ने लिखित परीक्षा स्थगित गरेको र अहिले करारमा रहेका शिक्षकलाई स्थायी गर्ने तर आफूहरुलाई प्रतिस्पर्धाबाटै वञ्चित गर्न खोेजेको भन्दै उनीहरुले रिट दिएका हुन् ।

गत मंसिर १४ गते बसेको त्रिविसभाले आफ्नो शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० संशोधन गरी त्रिविमा स्थायी, अस्थायी वा करार सेवामा अटुट १० वर्ष सेवा गरेका कार्यरत शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ । सो व्यवस्थाले त्रिविमा प्रतिस्पर्धी जनशक्ति नआउने र आफूहरुको प्रतिस्पर्धा गर्न पाउने हक हनन गरेको रिटमा उल्लेख गरिएको छ ।