काठमाडौँ – नेपालमा दुई र विभिन्न देशमा गरि २० जनाको हत्या गरेर जेल जीवन बिताइरहेका चाल्र्स शोभराजको मुद्दा न्यायाधीश अनिलकुमार सिंहाको एकल इजलासमा परेको छ । बिकिनी किलर भनेर चिनिने शोभराज उमेर हदका कारण कारण रिहाईको लागि गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन सिंहाको इजलासमा परेको हो ।
बुधबार शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । ४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्यामा संलग्न भएको पुष्टि भएपछि उनलाई सर्वाेच्चले जन्मकैदको सजाय सुनाएको थियो ।
कारागार नियमावली, २०२० अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था छ । तर उक्त नियमावलीमा विदेशीको हकमा कही कतै उल्लेख गरेको छैन ।
शोभराजले भने आफ्नो उमेर ७७ वर्ष पुगिसकेको कारण आफूले पनि उक्त सुविधा पाउनुपर्ने दावी गर्दै आएका छन् । विगतमा पनि असल चालचलन भएको विदेशी नागरिकलाई उक्त सुविधा दिइएको र आफू ७७ वर्ष पनि पुगिसकेका कारण सोही सुविधा पाउनुपर्ने शोभराजको जिकिर छ। तर कारागार प्रशासनले भने कर्तव्य ज्यान मुद्दामा कुनै त्यस्तो नजिर नभेटिएको बताउँदै आएको छ ।
शोभराजले ७० लागेपछि कैद मिनाहाका लागि पटक पटक निवेदन दिँदै आएका छन् । बिकिनी किलर शोभराजविरुद्ध नेपालबाहेक भारत, थाइल्यान्ड, टर्की, ईरान लगायतका देशमा २० जनाभन्दा बढीको हत्या गरेको अभियोग लागेको छ ।


प्रतिक्रिया