राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० गतेलाई तय


काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वसहित चुनिएका केन्द्रीय समितिको बैठक पुस १० गते बस्ने भएको छ । आज बाँकी बसेका केन्द्रीय सदस्यहरुको मतपरिणमा आइसके पछि बैठक व्यवस्थापनको तयारी सुरु हुने छ ।

आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको र मतपरिणाम आएपछि पुस १० गतेका लागि केन्द्रीय समितिको बैठक बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अहिलेसम्म सार्वजनिक भएको मतपरिणालाई हेर्ने हो भने संस्थापन पक्ष बलियो देखिएको छ । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक हुँदा १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ। यो संख्यामा अझै निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले एक जनालाई कोषाध्यक्षलाई मनोनीत गर्ने प्रवधान छ । त्यस्तै सभापतिले ३३ सदस्य थप गर्न सक्छन् ।

मंसिर २४–२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो ।