खेलकुद

सेन्ट्रल जोन भलिबल : दुवै नेपाली टोलीको खेल आज


एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आज बिहीबारबाट बंगलादेशमा सुरु हुँदैछ । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टोलीले सहभागिता जनाएका छन् ।

नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलंकाको सामना गर्दै छ । महिलातर्फ नेपाल साविक विजेता हो । यस्तै, पुरुष टोलीले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन् ।

पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।