राजनीति

ग्रिस दुर्घटनाका मृतक चार नेपालीको पहिचान खुल्यो


काठमाडौँ – संगठित मानव तस्करको भर परेर अवैध रूपमा टर्कीबाट ग्रिस छिर्न खोज्दा भएको गाडी दुर्घटनामा मृत्यु भएका चार नेपालीको पहिचान खुलेको छ । ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वमा गत कात्तिक २५ मा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएकोमा चार जना नेपाली परेको पुष्टि भएको हो ।

प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले पहिचानका लागि दुर्घटनामा मृत्यु भएकाहरूको तस्बिर नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो । इन्टरपोल नेपालमार्फत प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका तस्बिर परिवारजनले सनाखत गरेका थिए । ब्युरोका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापाको दुर्घटनामा मृत्यु भएको हो ।

ग्रिस इन्टरपोलले पठाएको पत्रअनुसार सवारी लाइसेन्स नभएका मोल्दोभाली चालकले चलाएको कालो कारमा १५ जना सवार थिए । ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिएको कार पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।