राजनीति

एमसीसी पास गर्ने सपना नदेख्न सदनबाटै खबरदारी (भिडियोसहित)


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद् अवरुद्ध गरेपछि सत्तारुढ दलहरु रुष्ठ बनेका छन् । बुधबार पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिए । जनताको आवाज मुखरित गर्ने संस्थालाई नै लगातार अवरोध गरेपछि एमालेको चौतर्फी आलोचना हुन थालेको छ ।

नेकपा एमालेले लगातार संसद् अवरुद्ध गर्न थालेपछि सत्तारुढ दलहरु रुष्ठ बनेका छन् । बुधबारको बैठक पनि अवरोध गरेपछि दलका नेताहरुले उसको आलोचना गर्न थालेका छन् । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको टिप्पणी गरे ।

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले एमालेले अव पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दावी समेत गरे । अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गरे ।

सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँकानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले अब धेरै दिन संसद अवरुद्ध नहुने विश्वास व्यक्त गरे । एमालेले उठाएको विषयमा सम्वद्ध पक्षको ध्यानाकर्षण भइसकेको भन्दै अब धेरै दिन संसदमा गतिरोध नहुने विश्वास व्यक्त गरे । प्रतिपक्ष दलले संसदलाई फलदायी, उपयोगी बनाउन दिनुपर्ने उनको भनाई छ । सर्वोच्च अदालतमा विचाराधिन मुद्धा संसदमा छलफलको विषय बनाउनु नहुने तर्फ उहाँले प्रतिपक्ष दल एमालेको ध्यानाकर्षण गराए ।

पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिए । एमालेले संसदलाई बन्धक बनाएर राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको आरोप लगाए ।

एमालेको अवरोधका बीच बसेको संसद् बैठकले चारवटा अध्यादेश स्वीकृत गरिएको छ । बुधबार बसेकाबैठकमा प्रस्तुत गरिएको “नेपाल प्रहरी र प्रदेश प्रहरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ, सामाजिक सुरक्षा र रेल्वे अध्यादेश बहुमतले स्वीकृत भएको छ ।