राजनीति

माओवादीका देउता प्रचण्ड : ‘टिके प्रथा’का राजा ! कस्तो आउला अबको नेतृत्व, को होला महासचिव ?


काठमाडौँ — नेपाली काँग्रेसले १४ औं महाधिवेशनबाट भारी प्रतिस्पर्धा गर्दै निर्वाचनका माध्यमबाटआगामी नेतृत्व तयार भएको छ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै जोड दिएपनि केही नेताको अडानले चुनावमार्फत नेतृत्वमा आए । अब प्रश्न राष्ट्रिय सम्मेलनको सम्मुखमा रहेको माआवादी केन्द्रमाथि सोझिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० बर्षदेखि पार्टीको नेतृत्व गरिरहेका छन् ।र ३० बर्षदेखि नै माओवादी टिके प्रथामै चलेको छ । २०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बनेका प्रचण्ड ५१ सालमा आएर माओवादी बनाएयता सधैँ अध्यक्षको भूमिका छन् ।

माओवादीलाई प्रचण्डले यस्तो बनाएका छन् कि, उनको इच्छाबेगर न पार्टीमा, न कुनै संगठनमा नेतृत्व चयन हुनसक्छ । न उनले पार्टीभित्र आफ्नो विकल्प बारे कसैलाई सोच्न सकेका छन्, न कसैलाई नेतृत्वका लागि स्वीकार्न । बरु नेतृत्व तहमा पुग्ने अवस्था नदेखेपछि बाबुराम भट्टराई हुँदै रामबहादुर थापा बादल जस्ता नेताहरु बाहिरीएका छन् । यही माओवादीले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।र प्रश्न टड्गारो बनेर उभिएको छ, के यो सम्मेलनले प्रचण्डको विकल्प दिन सक्ला ?

नेताहरुले पार्टीको अध्यक्षमा प्रचण्डबाहेक अरुको विकल्प देखेका छैनन् । नेतृत्व लिनेइच्छा भएपनि प्रचण्डकै स्थानमा उभिएर पार्टी चलाउने आँटका साथ कोही आउने सम्भावना पनि देखिएको छैन । बरु बाँचुञ्जेल प्रचण्डलाई नै नेतृत्वका रुपमा स्वीकार्ने र सधैँ दोस्रो बनेरै राजनीतिबाट अवकाश पाउनेपथमा उनीहरु छन् । यसरी दोस्रो बन्ने होडमा यतिबेला, जनार्दन शर्मा, बर्षमान पुन,पम्फा भूसाल र शक्तिबहादुर बस्नेत छन् । अध्यक्षपछिको शक्तिशाली पद महासचिवका लागि उनीहरु प्रचण्डसँग लविङ गर्न थालिसकेका छन् ।

पार्टीमा दोस्रो मानिएका नारायणकाजी श्रेष्ठले भने महासचिव पदमा दाबी गर्ने सम्भावना छैन। उनी सम्भव भए नेतृत्वमा दाबी गर्थे । तर ताकत नपुगेपछि आफु निकट गिरिराजमणि पोखरेलले महासचिवमा पठाउने तयारीमा छन ।

हरिबोल गजुरेलको समेत महासचिवमै इच्छा देखिएका बेला महासचिव भएर काम गरिसकेका कृष्णबहादुर महरा पनि दोहोरिने तयारीमा छन् । अन्य धेरै आकंक्षीले मुखै खोलेर भन्न आँट गरेका छैनन्, बरु प्रचण्डको इशारा पर्खिएका छन् । फलतः नेतृत्वमा प्रचण्डको विकल्प त देखिदैन नै अन्य पदमा पनि उनको चाहनाविपरितको व्यक्ति आउन सक्ने छैन ।
प्रचण्डले आफूसँग जुध्ने सबैको सिङ खुस्काएका छन र पार्टीका हरेक अन्तरसंघर्षमा जीत हात पारेका छन् ।सहयात्री पार्टी नेकपा एमाले र नेपाली काँग्रेसले प्रतिस्पर्धाकै आधारमा नेतृत्व छान्दा केन्द्रीय नेृतत्व चयनमा वर्षौदेखि जारी टिके प्रथा भत्काउन प्रचण्डमाथिसमेत दबाब परेको छ ।

आकांक्षीहरुको तीव्र हानथापकै बीच बागमती प्रदेश र प्रदेश एकमा प्रचण्डले निर्वाचनबाट नेतृत्व छान्न स्वीकृति दिएका छन् । अब केन्द्रीय नेतृत्वमा समेत प्रचण्डले टिका लगाएर पद बड्लान वा प्रतिस्पर्धाका लागि तयार होलान् चासोका साथ हेरिएको छ ।