राजनीति

संसद्‍ बैठक पुस १८ गतेसम्मका लागि स्थगित


काठमाडौँ — प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । पुस १८ गते आइतबार दिनको १ बजे आगामी बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

सभामुख सापकोटाले बैठक ११ दिन पर राखेपछि संसद्‌मा विचाराधीन अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) तत्काल संसद्‌मा पेश नहुने भएको छ । एमसिसी संसद्‌मा पेश गर्ने चर्चाले संसद्‌देखि सडकसम्म चर्चामा रहे पनि अब केही पर सर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा एमसिसी पेश गर्न खोजे पनि सत्ता गठबन्धनमै सहमति बन्न नसक्दा असफल बन्यो । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक सबै दल यथास्थितिमा एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन् ।

पाँच दलीय सत्ता गठबन्धनमै सहमति बन्न नसकेपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको छ ।