राजनीति

प्रदेश २ मा कोइराला र निधि समूहबीच गठबन्धन


काठमाडौँ – नेपाली कांग्रेस प्रदेश नं २ मा शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । प्रदेश २ मा नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवाविरुद्ध कोइराला र निधिबीच गठबन्धन बनेको हो ।

आज मतदान हुँदैछ । जनकपुरधाममा रहेको गोपाल धर्मशालामा आज दिउँसो ४ बजेसम्म नेतृत्वका लागि मतदान हुन लागेको कांग्रेस प्रदेश निर्वाचन समितिले जनाएको छ । सहमति नभए पछि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।