राजनीति

न्यायालयको विषयमा राजनीतिक दलले निर्णय गर्नुपर्ने


काठमाडौँ – नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभएको छ । बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनको लागि सबै राजनीतिक दलहरुलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभयो ।

राजनीतिक दलहरु न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उहाँको भनाई छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरुले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफु नांगिएको कुरा स्वीकार गरिसकेको दाबी गर्नुभयो । केही दिनदेखि स्थगन भएको बार एसोसिएसनको आन्दोलन पुनः सुरु भएको छ । मंगलवार कानून व्यवसायीहरुले नाराबाजीसहित सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।