राजनीति

कांग्रेसको प्रदेश २ अधिवेशन आजदेखि


काठमाडौँ – नेपाली कांग्रेसले प्रदेश २ अधिवेशन आजदेखि सुरु हुँदैछ । यसअघि ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले प्रदेश २ मा भने महाधिवेशनपछि अधिवेशन गर्न लागेको हो । अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ ।

प्रदेश सभापतिका लागि मुख्यगरी दुई जना मैदानमा देखिएका छन् । आज उम्मेदवारको मनोनयन गर्नुपर्ने चुनावी कार्यतालिका छ भने भोलि मतदान हुनेछ । प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव र रौतहट कांग्रेसका पूर्वसभापति कृष्णा यादव प्रदेश सभापतिका आकांक्षी छन् । सभापतिका आकांक्षीमध्ये रामसरोज विमलेन्द्र निधिनिकट छन् । कृष्णा सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । सभापति पदमा निधिनिकट रामसरोजलाई कांग्रेस नेता शेखर कोइराला पक्षले समर्थन गर्ने बताइएको छ ।

प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता रहेका छन् । प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र भातृ तथा शुभेच्छुक संघसंस्थाबाट तोकिएका प्रतिनिधि प्रदेश अधिवेशनका मतदाता हुन्छन् । प्रदेश २ का जिल्लामा जिल्ला अधिवेशन पनि हुन बाँकी छ । कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ को प्रदेश अधिवेशन र बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।