राजनीति

कांग्रेसको प्रदेश २ को अधिवेशनमा शेखर र विमलेन्द्र एक ठाउँ



काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय नेतृत्वमा मिल्न नसकेका शेखर कोइराला र विमलेन्द्र निधि प्रदेश २ अधिवेशनमा एक ठाउँ उभिने भएका छन् ।

दुई नम्बर प्रदेशको नेतृत्व हत्याउन दुई नेताबीच गठबन्धन भएको हो । उनीहरुको गठबन्धन सभापति शेरबहादुर देउवा समूहविरुद्ध भएको हो । यसअघि १६ मंसिरमै प्रदेश अधिवेशनको उद्घाटन भए पनि अहिलेसम्म प्रदेशको निर्वाचन भएको छैन, बरु केन्द्रीय अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश २ मा सभापतिका लागि देउवा समूहले कृष्ण यादवलाई अघि सारेको छ भने निधिले आफूनिकट रामसरोज यादवलाई अघि सारेका छन् । कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको हो ।

देउवा समूहबाट सभापतिका दाबेदार यादव रौतहटका पूर्वजिल्ला सभापति हुन् भने अर्का यादव प्रदेश २ मा कांग्रेसका संसदीय दलका नेता हुन्, उनी हाल प्रदेश सरकारका मन्त्रीसमेत हुन् ।