राजनीति

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरुद्व गर्ने, एमसीसी अन्योलमा


काठमाण्डौँ – संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । आजको बैठक हिउँदे अधिवेशनको दोस्रो बैठक हो । पहिलो बैठक मंसिर २८ गते बसेको थियो ।

एमालेले २८ गते बैठक अवरोध गरेको संसद आज पनि अवरोध गर्ने निश्चित छ । संसद बैठक गत भदौ २४ गतेदेखि निरन्तर अवरुद्ध छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकार र निर्वाचन आयोग मिलेर गैरसंविधानिक तरिकाले आफ्नो दललाई फुटाएको र त्यो फुटलाई बलपुग्ने गरि सभामुख अग्निप्रसाद सापकोटाले सत्ताकै पक्ष लिएर एमाले केन्द्रिय कमिटीले गरेको कार्यवाही अनुसार १४ जना संसदलाई सांसद पदबाट नहटाएको विषयलाई मुख्य मुद्दा बनाएको छ । उसले संसदमा जारी अवरोध कायमै राख्ने अडान लिएको छ । सरकारले हिउँदे अधिवेशनमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन चाहेको भनिएको छ ।

तर एमसीसी सम्बन्धमा पनि दलहरुबीच एकमत नहुँदा अर्को समस्या सृजना भएको छ । नेपाली कांग्रेस, जसपा र लोसपा एमसीसीको पक्षमा देखिएका छन् । तर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले सहयोग गरिरहेका छैनन् । उता प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि सरकारको धारणापछि आफ्नो धारणा दिने भनेर अड्को थापिरहेको छ । प्रमुख दलहरुबीच फरक फरक रणनीति हुँदा एमसीसी अन्योलमा परेको छ ।