कोरोना विशेष

कोरोनाविरुद्धको खोप पर्याप्त, भण्डारण र व्यवस्थापन अस्तव्यस्त



काठमाण्डौँ– नेपालमा कोरोना भाइरस विरुद्धको खोप निरन्तर आउन थालेपछि भण्डारणमा समस्या देखिएको छ । तर दुखको कुरा केन्द्र तथा प्रदेशका भण्डारणमा करोड भन्दा बढी खोप थन्किदा समेत जिम्मेवार निकायको लापरवाहीका कारण खोप अभियान भने सोच अनुरुप तीव्रगतिमा अगाडि बढ्न सकेको छैन ।

झन्डै ११ महिनाअघि खोप अभियान सुरु भएयता ३ करोड ७५ लाखभन्दा बढी खोप आयात भइसकेको छ । खोप मध्ये पनि अहिले पनि केन्द्र तथा प्रदेशको भण्डारमा एक करोड ५० लाखभन्दा बढी खोप रहेको आपूर्ति व्यवस्थापन महासाखाले जनाएको छ । भण्डारमा खोप थन्किँदा समेत देशभर सञ्चालनमा रहेका खोप अभियान भने ज्यादै सुस्त छ । यति धेरै खोप भण्डारमा हुँदा खोप अभियान तिव्र हुनुपर्ने हो तर देशभर दैनिक खोप लगाउनको संख्या भने ज्यादै न्युन छ । खोप आयातकै क्रममा बालबालिकाका लागि प्रयोग गर्न मिल्ने फाइजर र मोडर्नाको खोप भण्डारणमा समेत समस्या देखिएको छ । अहिले देशका ५७ जिल्लामा प्रयोग भइरहेको मोडर्नाको ३६ लाख मात्रा खोप नेपालमा आएको थियो । ती खोप जेनतेन भण्डारण गरिएको छ ।

तर केही दिन भित्रै आउने भनिएको फाइजर खोप भने माइनस ८० डिग्रीमा भण्डारण गर्नुपर्ने ह्ुन्छ । ५ लाख डोजभन्दा बढी खोप आयो भने अहिले ती खोप पनि भण्डारण गर्ने क्षमता सरकारसँग छैन । यसैबीच सोमबार प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्णमात्रामा खोप दिएर जनतालाई कोरोनाबिरुद्ध सुरक्षित बनाउने अभियानमा सबै सक्रियरुपमा लाग्न आग्रह गरेका छन् । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँग सोमबार सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको भन्दै सक्रियरुपमा लाग्न आग्रह गरेका हुन् ।

त्यसैगरी स्वाथ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चैतसम्म सबै नेपालीलाई खोप दिने सरकारको लक्ष्य रहेको र पूर्णमात्रामा खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै सक्रियरूपमा लाग्नुपर्ने छलफलको निष्कर्ष रहेको जानकारी दिएका छन् । उनले कोरोनाको जोखिमलाई हेरेर सरकारले आवश्यक नीति र नियम तर्जुमा गर्ने दावी गरेका छन् ।