देश

आगो बाल्ने पुरानो शैलि, चाहिदैन् सलाई, लाइटर काठबाटै बल्छ आगो (भिडियोसहित)


काठमाडौँ – नेपाली हिन्दु समाजमा शुभ कार्य गर्दा सबै खाले सामाग्री सफा र पवित्र हुन अनिवार्य हुन्छ । यो नियम आगोमा समेत लागू हुन्छ । यज्ञमा सल्काउने आगो कुनै सलाई वा लाइटरबाट बालेको हुन हुँदैन । यस्तो आगोको जोहो कसरी हुन्छ त ? दुई ज्वलनशील काठ वा यस्तै वस्तुको घर्षणबाट आगो निकाल्ने एक परम्परागत विधि प्रचलनमै छ ।

काठको वा काठको चुरो आपसमा निरन्तर घर्षण गराउँदा ताप उच्च हुँदै गएपछि आगोको झिल्का निस्किन थाल्छ । त्यही झिल्कोले झुलो सल्काउँछ । यसरी उत्पति भएको आगो यज्ञमा समिदा बाल्नयोग्य मानिन्छ ।

फुकेर बालिएको आगोमा थुकका छिटाहरु पर्ने भएकोले त्यस्तो आगो हिन्दुहरुको विशेष शुभ कार्यका लागि अपवित्र मान्ने गरिन्छ । शुभकार्यका लागि ‘अरणी मन्थन’ अर्थात दुई काठको घर्षणबाट उत्पति भएकै आगो चाहिन्छ । हिन्दुशास्त्रीय विधि पालना गर्नेहरुले शुभकार्यमा यसै गरी आगो सिर्जना गर्छन् र अनुष्ठान पूरा गर्छन् । खोटाङका घिमिरेबन्धुहरुको कूल पुजामा देखिएको यो दृश्य अरणी मन्थनकै एक रुप हो ।

हिन्दुहरुका धेरै शुभकार्यमा यज्ञ बनाउने, हवन गर्ने विधि पूरा गरिन्छ । जहाँ अरणी मन्थन अपरिहार्य हुन्छ । यहि विधिबाट उत्पति भएको आगोबाट पकाइएका परिकारलाई प्रसादको रुपमा समेत लिने गरिन्छ ।

अरणी मन्थनका लागि दुई ज्वलनशील काठ वा बाँसलाई आपसमा घर्षण गराइ रहनु पर्छ । विज्ञानले आगो सल्किन तीन अवस्थालाई अनिवार्य मान्छ, जसमा अक्सिजन, ताप र इन्धन हो । यो प्रक्रियामा पनि यी तीन अवस्था लागू भएको हुन्छ । निरन्तरको घर्षणले आगो बल्ने तहमा तापक्रम पुग्छ, हावामा भएको अक्सिजन र काठले इन्धनको रुप लिँदा आगो बल्न पुग्छ ।