राजनीति

संसद् विघटनको एक वर्ष, पुन:स्थापनापछि के फाइदा ? (भिडियोसहित)

के संसद् औचित्यहिन बनेको हो ?


काठमाडौँ – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको सोमबार एक वर्ष पूरा भएको छ । संविधानविपरीत भएको संसद विघटनको दिन अर्थात पुस ५ लाई प्रमुख राजनीतिक दलहरुले कालो दिनका रुपमा मनाए । कालोदिन मनाउन भेला भएका नेताहरुले कालो पट्टी त बाँधेनन्, कालो मास्क लगाएर संसद विघटनको विरोध गरे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि मोडिएको नेपालको राजनीतिको नयाँ नयाँ दृश्य नेपालीका अगाडि छर्लङ छन् । ओलीको त्यो निर्णयलाई अदालतले मात्रै होइन, धेरैले अस्वीकार गरे । विघटनको एक वर्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संसद अवरोध र एक वर्षअघिको विघटन एकै भएको बताए ।

सर्वोच्चले पुनस्र्थापना गरिदिएको संसदले अपेक्षित गति लिन सकेको छैन । कतिपय विधेयकहरु रोकिएका छन् । विवादित एमसीसी पनि पास हुने नहुने निश्चित छैन । पुस ५लाई प्रतिगमन भएको दिनका रुपमा सम्झिदै कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानमा समायनुकुल परिवर्तन हुँदै जानु पर्ने विचार राखे ।

दलहरुकै बेमेल र ओलीको सनकले भंग भएको संसद पुनस्र्थापना त भयो, तर यो संसदले गति लिन नसक्दा, संसद औचित्यहिन भइसकेको हो कि ? भन्ने प्रश्न उब्जिन थालेको छ । यो वा त्यो बहानामा प्रमुख प्रतिपक्षी संसद अवरुद्ध गरेर संसद भंगको औचित्य पुष्टि गर्न खोजिरहेको छ भने, सत्ता पक्षीय दलहरु यहि संसद कायम राखेर निर्वाचनमा जाने योजनामा छन् ।