राजनीति

काँग्रेसमा कस–कसको रोचक जित ? भित्रिए १६ नयाँ नेता (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य तर्फको मतगणना जारी नै छ ।

पदाधीकारीमा संस्थापन र इतर पक्षले मिश्रित नतिजा ल्याएको थियो भने केन्द्रीय सदस्यतर्फ भने संस्थापन हावी हुने देखिएको छ । केन्द्रीय समितिमा देउवालाई प्राप्त हुने सुविधाजनक बहुमतले पार्टी सञ्चालनमा सहजता दिने निश्चित जस्तै छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तगर्गत खुला केन्द्रीय सदस्यमा निर्वाचितहरु अधिकांश सभापति शेरबहादुर देउवा पक्षधर छन् । ३५ खुला केन्द्रीय सदस्य मध्ये ९ जना मात्रै डाक्टर शेखर कोइराला पक्षका छन् ।
कांग्रेसको ३५ भित्र अटाउनेमा पूर्वपत्रकार अजयबाबु शिवाकोटीदेखिविवादीत पात्र गणेश लामासम्म छन् । ३५ मध्ये १६ नयाँ अनुहारले केन्द्रमा आफ्नो स्थान जमाएका छन् । ती १६ मा पनि ८ जना त नेविसंघ पृष्ठभूमिबाट छन् । उदय शमशेर राणा र जितजंग बस्नेतलगायतले तरुण दल राजनीति गर्दै पार्टीमा प्रवेश पाए ।

काँग्रेसको विधानअनुसार भातृ संस्थाका पदाधीकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा भातृ संस्थामा कायम रहेको जिम्मेवारीबाट स्वत मुक्त हुन्छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेविसंघका अध्यक्ष राजीव ढुङगाना काँग्रेसको केन्द्रीय सदस्य बनेपछि ती संगठन स्वतः नेतृत्व विहिन भएका छन् । पार्टीको केन्द्रमा स्थापित हुन सफल यी दुई नेता आफ्नो पूर्वसंगठनको महाधिवेशन गराउन चाहिँ असफल थिए ।

पार्टीगत राजनीतिमा खुट्टा टेक्न भातृ संगठनलाई भर्याङ बनाएको टिप्पणी पनि हुने गरेको छ । चार पटकसम्म पनि केन्द्रीय सदस्यभन्दा माथि उक्लिन नसकेका नेता एनपी साउदको मतमा पार्टीमा विचार र सिद्धान्त बहस गौण बन्दै गएको छ । विचार, त्याग र निष्ठालाई कायम राख्न पार्टी विधान संशोधन हुनु पर्ने धारणा नेताहरुको छ ।