राजनीति

सरकारले एमालेसँग वार्ता नै गर्न चाहेको छैन : देवेन्द्र दाहाल


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले एमालेसँग बसेर वार्ता नै गर्न नचाहेको बताउनुभएको छ । दाहालले संसद निरन्तर अवरुद्ध हुँदा पनि सरकारले बेवास्ता गरेको बताउनुभएको हो ।

सोमबारको राष्ट्रिय सभाको बैठक अवरोध गर्ने क्रममा उहाँले भन्नुभयो, ‘सरकारले हामीसँग वार्ता नै गर्न चाहेको छैन । अरु अरु नै कुरामा ध्यान दिइरहेको छ।’ सदन सञ्चालन गर्नाका लागि प्रमुख प्रतिपक्षी जिम्मेवार हुनुपर्ने हो की सत्तापक्ष जिम्मेवार हुनुपर्ने हो भन्दै उहाँले प्रश्न गर्नुभयो । त्यस्तै उहाँले आफूहरुले उठाएको विषयमा सरकार र सभामुखले ध्यान नदिएको आरोप लगाउनुभयो ।

दाहालले सर्वदलीय बैठकमा समेत प्रमुख प्रतिपक्षी दललाई नडाकिएको बताउनुभयो । उहाँले आफूहरुले उठाएको विषयको जवाफ नआउन्जेल सदन अवरुद्ध जारी रहने बताउनुभयो ।