राजनीति

एमसीसी अध्ययन गर्न बनेको कार्यदल काम थाले


काठमाडौँ – एमसीसी सम्झौताबारे अध्ययन गरी सुझाब दिने जिम्मा पाएको कार्यदलले आजबाट काम थाल्दै छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसिसी अध्ययन गरी सुझाब दिने जिम्मा दिएको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने उपस्थित थिएन । समग्रपक्षको अध्ययन गरेर सुझाब पेस गर्ने खनालले जानकारी दिनुभयो । कार्यदललाई सुझाब दिने समयवधि भने तोकिएको छैन । जतिसक्दो छिटो सुझाव दिने खनालको भनाइ छ । कांग्रेस र जसपा एमसिसी सम्झौताको पक्षमा छन् भने माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमकिपा यथास्थितिमा एमसिसी सम्झौता पारित गर्न नहुनेमा छन् ।

सरकारमा हुँदा एमसीसी पारित गर्न जोडबल गरेको एमाले अहिले मौन छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले एमसिसी संसदमा पेस भएपछि मात्रै धारणा बनाउने बताएको छ । यसअघि तत्कालीन सत्तारुढ नेकपाले खनालकै संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले संशोधनविना एमसीसी पारित गर्न नहुने सुझाब दिएको थियो ।