राजनीति

देउवा झन शक्तिशाली : भारी बहुमतमा,न रुपान्तरण–न पुस्तान्तरण, देउवाकै दबदबा (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको परिणामपछि केन्द्रीय सदस्यको मतगणना जारी छ । जहाँ सभापति शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत देखिन थालेको छ । पार्टीमा रुपान्तरणको बहस चुलिएको बेला, खुला केन्द्रीय सदस्यहरुमा देउवा पक्षको दबदबा कायम हुन लागेको यो प्रशंग रोचक पनि छ ।

१४ औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारीमा सभापति शेरबहादुर देउवा मात्रै पुरानो अनुहारबाट थिए । महाधिवेशन प्रतिनिधिहरुको यो छनोट पछि कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको एजेन्डा स्थापित हुने आँकलन गरिएको थियो ।

उपसभापति र महामन्त्रीको परिणामले देउवा कमजोर देखिदा पार्टीमा इतर पक्षका एजेन्डा स्थापित गर्न सहज हुने र विगतकै जस्तो विधि, पद्धतिबाहिर गएर पार्टी नचल्नेविश्वास पनि गरिएको थियो । १३ सदस्यीय पदाधिकारीमा बहुमत सिद्ध गरेका देउवा खुल्ला केन्द्रीय सदस्यको परिणाम आउँदासम्म भारी बहुमतका साथ पार्टी सभापति हुने सम्भावना नजिक छन् ।

केन्द्रीय सदस्यको खुल्लातर्फ३५ मध्ये २५ बढी देउवा पक्षकै निर्वाचित हुनसक्नेआइतबारको परिणामले देखाएको छ । पार्टी केन्द्रीय समितिमा देउवा सहज बुहमतमा हुने देखिएपछि इतर पक्ष झस्किएको छ । केन्द्रीय समितिको संरचना जे जस्तो भए पनि सभापति माथि दबाब कायम राख्ने रणनीति इतर पक्षको देखिन्छ ।

परिवर्तन र पुस्तान्तरणको एजेन्डा बोकेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केही युवाले जितेपनि केन्द्रीय सदस्यमा अधिकांश पुरानै नेता दोहोरिएका छन् ।विधानमा सभापतिलाई कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य, विभिन्न निकाय र विभागका पदाधिकारी मनोनयन गर्ने अधिकार दिएको छ ।

देउवाले चाहेकै व्यक्ति यी पदमा मनोनित हुन सक्छन् । सभापति, महामन्त्री र कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीको जिम्मेवारी तोक्ने अधिकार सभापतिमा निहित छ । तर पदाधिकारीमा पराजित भएका र केन्द्रीय समितिमा तान्ने वचन दिएकालाई मनोनित गर्ने बाध्यता देउवालाई हुनेछ ।

महाधिवेशनमा उम्मेद्वारी नै नदिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला मात्रै होइन, उम्मेद्वारी दिएर पराजित भएका विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय गच्छदार, प्रकाशशरण महत, प्रदीप पौडेल र सहमहामन्त्रीमा पराजित नेतालाई ३३ जनाभित्र पारेर मनोनित गर्नुपर्ने दबाबमा सभापति हुनेछन् । अर्काेतर्फ शेखर कोइराला पक्षका चन्द्र भण्डारी, मिनेन्द्र रिजाललगायतका नेताहरुलाई पनि केन्द्रीय समितिमा तान्नु पर्नेछ । समग्रमा पदाधिकारीका केही अनुहार फेरिएपनि काँग्रेसको टिम पुरानै नेताहरुले भरिभराउ हुनेछ ।न रुपान्तरण,न पुस्तान्तरण, पुरानै तौरतरिकाले काँग्रेस अघि बढ्ने सम्भावना पनि छ ।