समाचार

ह्वात्तै बढ्यो विद्युत माग, के कुलमान सफल भएकै हुन त ? (भिडियोसहित)


काठमाडौँ — नेपालमा विद्युत उत्पादन सँगै खपत पनि क्रमिक रुपमा बढ्न थालेको छ । विद्युतीय चुल्हो, एयर कन्डिसन, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको बृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढेको विश्वास गरीएको छ ।

विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युतको उच्च माग तीन सय मेगावाटको हाराहारीले बढेको हो । आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीतिले खपत बढेको सरकारको दावी छ ।

विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको बृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको बृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढेको प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विश्वास छ ।

विद्युत् बढी खपत हुने काठमाडौँ उपत्यकाकोसहित आसपासको क्षेत्रमा विद्युत माग पनि ह्वातै बढेको छ । काठमाडौँ उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा बृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । ऊर्जाका मागका आधारमा आधारमा मंसिर २७ गते विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो ।

उर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो । प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने सरकारको योजना छ ।

प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।