राजनीति

लिङ्देनले राप्रपा कब्जा गरे, गगन र विश्वप्रकाशले काँग्रेस, युवाबाट आश गर्न सकिएला ?


काठमाडौँ – नेपालका सानाठूला प्रायः सवै दल महाधिवेशनको माहोलमा छन् । प्रमुख सत्तारुढ दल कांग्रेस, प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाले महाधिवेशनबाट नेतृत्व चयन गरिसकेका छन् । सत्तारुढ दल माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको संघारमा छ । राजनीतिप्रति वितृष्णा भएको वर्गलाई नवनिर्वाचित नेतृत्वले सकारात्मक छाप छोड्न सक्ला ? मंसिर महिनाभर सानाठूला राजनीतिक दल महाधिवेशनमा होमिए ।

पार्टीभित्रको संस्थापन समूह नेतृत्व निरन्तरताको पक्षमा लाग्दा इतरपक्ष भने परिवर्तनका लागि खरो रुपमा उभिए । संसदको सवैभन्दा ठूलो दल एमाले र दोस्रो ठूलो दल कांग्रेसमा मूल नेतृत्व नै पुनः दोहोरियो । केपी ओली र शेरहादुर देउवासामू नेतृत्व परिर्वतनको मुद्दा फिक्का सावित भयो । एमालेमा अध्यक्ष केपी ओलीले बाँडेको सूचीअनुसार नै पदाधिकारी र केन्द्रीय कमिटी बन्यो भने कांग्रेसमा मिश्रित परिणाम आयो ।

शेरबहादुर देउवा र डा. शेखर कोइरालाको शक्ति रहेका दुई गुटलाई चुनौती दिँदै मैदानमा उत्रिएका विश्वप्रकाश शर्मालाई महामन्त्री निर्वाचित हुने अवसर मिल्यो । कांग्रेस पदाधिकारीमा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ अनुहार निर्वाचित भए । राप्रपामा शक्तिशाली अध्यक्ष कमल थापालाई प्रतिनिधिको मतबाट राजेन्द्र लिङ्देनले पाखा लगाइदिए । कांग्रेसमा युवा नेता गगन थापा र शर्मा प्रतिनिधिको मतबाट महामन्त्रीमा उदाए ।

थापा र शर्मालाई धेरैले भावी नेतृत्वको रुपमा चित्रित गरेका छन् । क्रमभंग गरेर उदाएको नेतृत्वले राजनीति र नेतृत्वप्रति बढ्दो वितृष्णालाई आशा र भारोशामा बदल्न सक्छन त ? प्रश्न अहम् बनेको छ । किनकि युवा पुस्ताले केही गर्ने आशा र इतिहास हेरेर निराशा व्यक्त गर्ने सर्वसाधारणको पंक्ति अहिले पनि उत्तिकै छ । परिवर्तनको विषय व्यक्तिभन्दा पनि उसको नीतिमा भर पर्छ ।

जनताले परिवर्तनको महसुस गर्न सकेनन् भने जो सुकै नेतृत्वमा आएपनि तात्विक भिन्नता रहँदैन । तथापी विभिन्न दलका नवनिर्वाचित नेतृत्वले केही आशा जगाएको छ । के यसरी आएको नेतृत्वले देश र जनताको आवश्यकता अनुसार काम गर्ने सामाथ्र्य राख्छ त ? गुटगत प्रभाव र सोचाईका कारण तत्काल अपेक्षित परिवर्तन नभएपनि रुपान्तरण र पुस्तान्तरणको सुरुवात भएको विश्लेषकहरू बताउँछन । तर उत्साहित बनेको तप्कालाई थप उर्जा भर्ने चुनौती नयाँ नेतृत्वसामू छ ।