राजनीति

उखु खेती छाडेर तरकारी खेतिमा आकर्षित हुँदै सर्लाहीका किसान


काठमाडौँ – चिनी मिलले भुक्तानी रोकेपछि आर्थिक समस्या झेल्दै आएका सर्लाहीका किसान उखु खेती छाडेर व्यवसायिक तरकारी खेती गर्न थालेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि किसान उत्साहित छन् । उखु खेतीको पकेट क्षेत्र मानिने सर्लाहीको पश्चिमी भेगका किसान चिनी मिलले उखुको भुक्तानी रोकेपछि तरकारी खेतीतर्फ लागेका छन् । उखु उधारोमा विक्री हुँदा आर्थिक समस्या झेल्दै आएका किसान तरकारीबाट राम्रो आम्दानी भएपछि उत्साहित भएका छन् ।

दुःख गरेर उत्पादन गरेको उखुको भुक्तानी नपाएपछि निरास भएका किसान तरकारी खेतीतर्फ आकर्षित भए । जिल्लाको गोडैता नगरपालिकाका किसानहरूले उखुको रकम माग गर्दै महालक्ष्मी सुगर मिलमा आन्दोलन नै गरे । उद्योगीले समयमा रकम भुक्तानी नगर्दा घरव्यवहार चलाउन निकै समस्या परेको किसानहरुको गुनासो छ । उखु बिक्री गरे वापतको रकम भुक्तानी पाउने आसमा साहु र बैंकसँग लिएको ऋण तिर्न समेत किसानलाई समस्या भएको छ ।

उखु खेतीबाट आम्दानी गर्ने नदेखिएपछि बाध्य भएर तरकारी खेती सुरु गर्नु परेको किसान बताउँछन् । कुनै समय उखु मात्र रोपिएको खेतमा अहिले तरकारी रोपिएको छ । आफ्नै जग्गामा र भाडामा लिएर समेत व्यवसायिक गोडैताबासीले तरकारी खेती थालेका छन् । मौसमी र बेमौसमी दुबै खाले तरकारी खेतीबाट राम्रो आम्दान भइरहेको छ ।

वर्षौंदेखि नगदेबालीको रुपमा उखु खेती गर्दै आएका किसान तरकारी खेतीतर्फ आकर्षिक भएपछि नगरपालिकाले पनि सहयोग उपलब्ध गराएको छ । नगरपालिकाले समुहमा बोरिङ, बिउबिजन, मलखाधलगायत उपलब्ध गराएको छ । उत्पादित तरकारी सर्लाहीमा मात्र नभए, काठमाडौं, वीरगञ्जलगायतका शहरमा निर्यात हुने गरेको छ ।

मिलले भुक्तानी नदिँदा उखु खेतीबाट लागेको ऋण तरिकारी खेतीबाट तिर्ने सुरु किसानले गरेका छन् । किसानले काउली, भ्यान्टा, बन्दाकोभी, मुला, खुर्सानी र आलुलगायत रोपेका छन् ।